लिग लिडर बागमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार स्पोर्टस एकेडेमी साँगाविरुद्ध २-० को सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बागमतीलाई जित दिलाउन दुवै गोल राज भुसालले गरे ।
जितसँगै बागमतीले ११ खेलमा २६ अंक जोडेको छ । पराजित साँगा समान खेलबाट १५ अंकका साथ सातौं स्थानमा छ ।
खेलको १५औं मिनेटमा राजको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । उनले आविशेक लामाको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।
राजले नै ९ मिनेटपछि टोलीको अग्रता दोब्बर बनाए । उनले सिर्जनराज गौतमको क्रसलाई नियन्त्रणमा दिँदै जाली चुमाए ।
त्यसपछि थप गोल निस्कन नसक्दा बागमतीले सहज जित निकाल्यो ।
यसैगरी आइतबार नै सम्पन्न अर्को खेलमा खालीबारी युवा क्लबले झम्सिखेल युवा क्लबविरुद्ध २-० कै जित निकाल्यो ।
