केराबारी (मोरङ) । आयोजक केराबारी फुटबल क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपमा बुधबार च्याम्पियन बनेको छ ।
केराबारी-८ स्थित केराबारी रङ्गशालामा भएको फाइनलमा केराबारीले झापा-११ लाई १-० गोलले स्तब्ध बनाउँदै उपाधि चुमेको हो । केराबारीले उपाधिसँगै नगद रु ४ लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको झापाले रु २ लाख हात पारेको छ ।
केराबारीलाई च्याम्पियन बनाउन भुवन बस्नेतले निर्णायक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफ प्रारम्भ भएको तेस्रो मिनेटमा गोल गरेका हुन् । फाइनल खेलको म्यान अफ दि म्याच केराबारीका महेन्द्र कार्की घोषित भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक केराबारीका भुवन बस्नेत घोषित भए । उत्कृष्ट डिफेण्डर केराबारीका सुजन रासाइली, उत्कृष्ट गोलरक्षक केराबारीका विवेक मगर, उत्कृष्ट फरवार्ड झापा-११ का निखिल तामाङ, उत्कृष्ट मिडफिल्डर झापा-११ का निकेश श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक केराबारीका सबिन याखा, सर्वाधिक गोलकर्ता झापा-११ का निखिल तामाङ र केराबारीका भुवन बस्नेत, उदयीमान खेलाडी केराबारीका अनिल परियार तथा फ्यान अफ द म्याच सहनी रसाइली घोषित भए ।
केराबारी फुटबल क्लबको आयोजनामा माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको थियो ।
