गाईघाट । एन्फा महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लब र संकटा फुटबल क्लब आज प्रतिस्पर्धा गर्दै छन् ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा हुने यो निर्णायक खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ । दुवै टोली उपाधि नजिक पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।
क्वाटरफाइनलमा एपीएफले आरएस पोखरालाई १९–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो भने संकटाले न्यू रोड टिम (एनआरटी) लाई ४–१ हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
आजको खेलको विजेताले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब सँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब लाई १–० ले स्तब्ध पार्दै उपाधि नजिक पुगेको थियो ।
