पोखरा । जावलाखेल युथ क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको २५औँ संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा उज्वेकिस्तानको एभीए एफसीलाई १-० ले स्तब्ध बनाउँदै जावलाखेल उपधि नजिक पुगेको हो ।
गोल्डकपको फाइनल खेल शनिबार पोखरा रंगशालामा हुनेछ । जावलाखेलले उपाधिका लागि आयोजक सहरा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
जावलाखेलको जितमा खेलको ५२औं मिनेटमा एभिएका खुसान जानीजानोभले गरेको आत्मघाती गोल खेलको निर्णायक गोल बनेको थियो । धमेन्द्र प्रधानले लेफ्ट विङबाट डि–एरिया नजिकैबाट दिएको क्रस रोक्ने क्रममा एभीए एफसीका डिफेन्डर खुसान जानीजानोभले जोगाउने क्रममा छातीमा बल लाग्दै जाली चुमेको थियो ।
६५औं मिनेटमा मामुरोतोभलाई फाउल गरेपछि जाउलाखेलका युवराज ढकालले सिधै रातो कार्ड पाउँदै मैदान छाड्नु परेको थियो । संख्यात्मक रुपमा कमजोर बने पनि जाउलाखेलले अन्तिमसम्म अग्रता जोगाउँदै फाइनल स्थान सुरक्षित गर्यो ।
खेलको म्यान अफ दि म्याच पराजित टोली एभीए एफसीका जोकोचन राखीमोभ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।
