धरान । २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडले जितेको छ ।
धरान रंगाशालामा शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १-० ले स्तब्ध बनाउँदै प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो ।
प्लानिङ ब्वाइजको जितमा प्रताप सिंह राईले दोस्रो हाफको १८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो सहभागितामै प्लानिङ ब्वाइजले बुढासुब्बा गोल्डकपको उपाधि जित्न सफल भएको हो ।
दोस्रो प्रयासमा प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यको साथ मैदानमा उत्रिएको चर्च ब्वाइजको डिफेन्स लाइन अघिल्लो खेलको तुलनामा निकै कमजोर देखिएको कारण उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।
प्लानिङ ब्वाइजले उपाधिसँगै नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझायो । दुवै पुरस्कार राशि प्रतियोगितालाई संयोजन गरेको धरान उपमहानगरपालिकाले प्रायोजन गरेको हो ।
फाइनल खेलको म्यान अफ दि म्याच विजयी टिम प्लानिङ ब्वाइजका पुजन थापा भए । उनले नगद १० हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ पनि प्लानिङ ब्याइजले वर्चस्व कायम गरेको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक प्लानिङ ब्वाइजका योगेश धिमाल, उत्कृष्ट डिफेन्डर प्लानिङ ब्वाइजकै निनुङमा घिसिङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उत्कृष्ट प्रशिक्षक प्लानिङ ब्वाइजका सञ्जीत सिंह र उत्कृष्ट फरवार्ड चर्च ब्याईजका अव्यमी फकिनले भए । उत्कृष्ट हुने सबैले जनही २५-२५ हजार रुपैयाँ र ट्रफी हात पारेका छन् ।
प्रतियोगिताको सार्वधिक गोलकर्ता प्लानिङ ब्वाइजका प्रताप सिंह राई, झापा ११ का खेलाडीद्वय राजेश दाहाल र एरोन थापामगर भए । उनीहरूले समान २-२ गोल गरेका थिए । उनीहरूलाई नगद ३५ हजार पुरस्कारबाट दामासाहीरुपमा १२-१२ हजार प्रदान गरिएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रताप सिंह राई घोषित भए । उनले होण्डाको डियो स्कुटर पुरस्कार प्राप्त गरे । धरान फुटबल क्लबको आयोजनामा माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको थियो ।
