केराबारी (मोरङ) । सुनिल खड्काले इन्जुरी समयमा गरेको एक मात्र गोलको मदतमा डाँडाबजार एफसी धनकुटा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
केराबारी-८ स्थित केराबारी रङ्गशालामा बिहिवार भएको दोस्रो क्वार्टरफाइनलमा खेलमा पाहुना टोली युनाइटेड कुर्सेङ एफसी भारतलाई १-० ले पराजित गर्दै डाँडाबजार सेमिफाइनलमा पुगेको हो । सुनिलले इन्जुरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरेका हुन् ।
निर्धारित समयमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेका थिएनन् । तर अन्तिम समयमा सुनिलले गोल गर्दै जित दिलाएका हुन् । सुनिल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले रु ५ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
शुक्रबार द योङ ब्रदर्स क्लब इटहरी र सातदोबाटो युथ क्लब ललितपुरबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको छ भने आयोजक केराबारी फुटबल क्लब, केराबारी, मोरङ हो ।
फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले रु ४ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।
