म्यानचेस्टर सिटी र लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबारका खेलमा जित निकालेका छन् । लिभरपुलले सन्डरल्याण्डलाई १-० र म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेका हुन् ।

सन्डरल्याण्डको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन भर्जिल भान डाइकले निर्णायक गोल गरे । उनले खेलको ६१औं मिनेटमा गोल गरेका हुन् ।

त्यस्तै बुधबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-० गोल अन्तरले हरायो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन एन्टोनी सेमेन्योले २४औं, निको ओ’ रेइलीले ३०औं र इर्लिंग हालाण्डले ३९औं मिनेटमा गोल गरेका थिए ।

बुधबार राति नै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले ब्राइटनलाई १-० र बर्नलीले क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले हराए ।

यी खेलपछि म्यानचेस्टर सिटीको २६ खेलमा ५३ अंक भएको छ र दोस्रो स्थानमा छ भने एस्टन भिल्लाको २६ खेलमा ५० अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी लिभरपुलको २६ खेलमा ४२ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *