धरान (सुनसरी) । झापा–११ कठिन जित निकाल्दै बुढासुब्बा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार धरान रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्दै झापा–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेल सुरू भएको १७औं मिनेटमा राजेश दाहालको गोलबाट झापा–११ ले अग्रता लिएको थियो । तर, ५८औं मिनेटमा विदेशी खेलाडी बबिरोसले सातदोबाटोका लागि बराबरी गोल फर्काए । ८९औं मिनेटमा एरोन थापाले निर्णायक गोल गर्दै झापा–११ को जित सुनिश्चित गरेका हुन् ।

झापा–११ को जितसँगै बुढासुब्बा गोल्डकपको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । फाइनल प्रवेशका लागि झापा–११ ले चर्च ब्वाइज युनाइटेडसँग बिहिवार हुने सेमिफाइनल खेल्नेछ । बुधबार लालीगुराँस फुटबल क्लब पोखरा र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

खेलको म्यान अफ द म्याच झापा-११ का एरोन थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

फाल्गुन २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *