रंगेली (मोरङ) । बबिया बिर्ता युवा क्लब, रंगेली, मोरङको आयोजनामा जारी रंगेली नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नम्बर २ र वडा नम्बर १ भिड्ने भएका छन् ।

बुधबार रंगेलीको दौलतपुरस्थित श्री प्रगतिशिल माविको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा वडा नम्बर ३ लाई १-० गोल अन्तरले हराउँदै वडा नम्बर २ ले वडा नम्बर १ सँगको फाइनल भेट पक्का गरेको हो । 

वडा नम्बर २ लाई जित दिलाउन योगेश्वर खवासले निर्णायक गोल गरे । डिबक्स बाहिरबाट योगेश्वरले प्रहार गरेको फ्रि कक सिधै गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दि म्याच पनि योगेश्वर नै घोषित भए । उनले नगद एक हजार एक सय रुपैयाँसहित मेडल प्राप्त गरे ।

वडा नम्बर २ ले वडा नम्बर १ बीच हुने फाइनल खेल माघ २४ गते शनिबार हुनेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ९ लाई २-० गोल अन्तरले हराउँदै वडा नम्बर १ फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा रंगेली नगरपालिकाका ९ वडा मध्ये ९ वटा वडाकै सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार रुपैयाँ र उपविजेता हुने टिमले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *