धरान (सुनसरी) । २६औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

बिहिवारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको जर्जियन फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्यो । जितसँगै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको खेलको निर्धारित समयमा दुबै टोलीले एक-एक गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट गरिएको थियो ।

टाइब्रेकरमा धरानका बिबेक राई, सबिन राई, प्रजल थापा र नगेन राईले गोल गरेका थिए । जर्जियनका सरद मुण्डा र साइजाले मात्र गोल गरे । बक्सर प्रधानको प्रहार बाहिरियो भने बिशाल क्षेत्रीको प्रहार धरानका बैकल्पिक गोलरक्षक बिपुल मगरले रोकेका थिए ।

यसअघि निर्धारित समयको ८औं मिनेटमा जर्जियनका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको १९औं मिनेटमा धरानका कप्तान तपन मगरले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । त्यसपछि दुबै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो ।

खेलको म्यान अफ दि म्याच धरानक बैकल्पिक गोलरक्षक बिपुल मगर घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत शुक्रबारको दोस्रो प्रि–क्वाटरफाइनल खेल अर्को पाहुना टोली रोयल थिम्पु फुटबल क्लब, भुटान र झापा ११ बीच हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ ।

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ । भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *