साउदी क्लब अल हिलाल अपराजित रहँदै २०२३-२०२४ को साउदी प्रो लिग च्याम्पियन बनेको छ। केहि खेल बाँकी छँदै च्याम्पियन बनेको अल हिलालले अन्तिम खेल सम्मै अपराजित यात्रालाई कायम राखेको हो।
अल हिलालले लिगको अन्तिम खेलमा अल वेदालाई २-१ को गोल अन्तरले पराजित गर्यो। सिजनको अन्तिम खेलमा वेदा विरुद्ध अल हिलालले बलमा राम्रो नियन्त्रण राख्दै जित निकालेको हो।
किङ अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम मेकामा सोमबार राति भएको खेलमा अल हिलालको जितमा मोहम्मेद कानो र एलेक्सान्दर मित्रोभिचले एक-एक गोल गरे।
त्यस्तै अल वेदाका यायानाजीले एक गोल फर्काएका पनि हार टार्न सकेनन्। खेलको १९औं मिनेटमा अल हिलालले अग्रता पाएको थियो। सो गोल कानोले गरेका थिए।
७७औं मिनेटमा नाजीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा पुर्याए। अतिरिक्त समयको थप गरिएको दोस्रो मिनेटमा मित्राभिचले गोल गर्दा अल हिलालको जित पक्का भयो।
अल हिलालले यो सिजन प्रो लिगको ३४ खेलमा ३१ जित र ३ बराबरीसहित कुल ९६ अंक बटुलेर अन्त्य गर्यो। त्यस्तै अल वेदा ३४ खेलबाट ३६ अंक जोडेर १३औं स्थानमा रह्यो।
