बूढानिलकण्ठ भलिबल क्लब नवौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा बूढानिलकण्ठले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–१७, दोस्रो सेट २५–१६ ले जितेको बूढानिलकठले तेस्रो सेट भने १८–२५ ले घुमायो । चौथो सेटमा २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भयो । यस खेलमा बूढानिलकण्ठका धिरोजकाजी बस्नेत ‘प्लेअर अफ द म्याच’ घोषित भए ।
यससँगै क्वार्टरफाइनलमा पुग्ने बुढानीलकण्ठ सातौं टोली बनेको छ । समूह ‘ए’ को उपविजेताको रूपमा बुढानिलकण्ठ भलिबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
अब बुधबारै पुरुषतर्फको समूह चरणको अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघ र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरले खेल्ने छन् । यो खेलबाट पनि विजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।
यसअघि पुरुषतर्फ ६ टोलीले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । क्वार्टरफाइनलमा पुगिसकेका टोलीमा हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, रुकुम पश्चिम ट्रेनिङ सेन्टर, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लब रहेका छन् ।
महिलातर्फ भने सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागिसकेको छ । समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लबले समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ । यस्तै, समूह ‘बी’ को उपविजेता नेपाल एपीएफ क्लबले समूह ‘ए’ को विजेता न्यु डायमण्ड क्लबसँग सेमिफाइनलमा भिड्नेछ ।
