काठमाडौँ । नेपाल भलिबल संघको आयोजनामा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत मंगलबार पनि चार खेल हुने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहान १० बजेबाट सुरु हुने दिनको पहिलो खेलमा पुरुषतर्फ विभागीय टोली एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्लब आमनेसामने हुनेछन् । समूह ‘ए’ बाट दुवै खेल जितेको हेल्प नेपाल स्पोर्ट्स क्लब यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।

दोस्रो खेलमा ढोरपाटन स्पोर्ट्स क्लब र खिल्जी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ । दुवै टोली यसअघि नेपाल पुलिस क्लबसँग पराजित भएका थिए ।

महिलातर्फ समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीले आ–आफ्ना अघिल्ला खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । आजको खेलमा विजयी टोली समूह विजेता बन्नेछ ।

दिउँसो ४ बजे हुने समूह ‘ए’ को खेलमा एभरेष्ट भलिबल क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लब भिड्नेछन्। न्यु डायमन्ड तेस्रो जितको खोजीमा रहँदा एभरेष्ट भने प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *