काठमाडौं । लगातार दोस्रो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न समूह ‘डी’को खेलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।
जितसँगै आर्मीले ६ अंक पुर्यायो । पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
कीर्तिपुरको भने यो पहिलो खेल हो । पहिलो सेट २५–१९ ले जितेको आर्मीले त्यसपछिका दुई सेट २५–२१ ले आफ्नो बनायो ।
आर्मीले अब समूह ‘ए’को एपीएफ र मणिमुकुन्द भलिबल क्लबबीचको विजेतासँग खेल्नेछ ।
