इटालियन सिरी ‘ए’ क्लब रोमा च्याम्पियन्स लिगमा पुग्न असफल भएको छ।
स्टेडियो कार्लो कास्टेलानीमा आइतबार राति भएको खेलमा एम्पोलीसँग २-१ गोल अन्तरले पराजित भएसँगै रोमा युरोपा लिगमा धकेलिएको हो।
आइतबार एम्पोलीलाई पराजित गरेको भए र युरोपा लिग च्याम्पियन एटलान्टा टोरिनोसँग पराजित भएको भए रोमाको च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम रहन्थ्यो। तर, लिगको अन्तिम खेलमा रोमले सोचेअनुसार नतिजा आइदिएन।
एक खेल खेल्न बाँकी रहेको एटलान्टाले टोरिनोलाई ३-० गोल अन्तरले पराजित गर्दै चौथो स्थानमा उक्लियो। आइतबार फियोरेन्टिनासँग खेल्न बाँकी रहेको एटलान्टाको रोमाभन्दा ६ अंक बढी रहेको छ। पाँचौं स्थानमा रहेको बोलोग्राको पनि रोमाभन्दा ५ अंक बढी रहेको छ।
एम्पोलीका माटेओ कैन्सेलिएरील खेलको १३औं मिनेटमै गोल गरेका थिए। उनले इमानुएल ग्यासीको पासमा गोल गरे। १९औं मिनेटमा ब्रायन क्रिस्टेन्टले गोल गरेपनि भीएआरले मान्यता दिएन।
पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा एन्जेलिनोको पासमा हुसेम औरले गोल गर्दै खेल बराबरीमा फर्काए।
तर, दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा एमबाए नाइमले गोल गर्दै एम्पोलीलाई जित दिलाए। योसँगै ३६ अंक जोडेको एम्पोली रेलिगेशनबाट जोगिएको छ।
