इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम खेलमा इन्टर मिलान हेलास भेरोनासंग बराबरीमा रोकिएको छ ।
आईतवार राति भएको सिजनको अन्तिम खेलमा लिग विजेता इन्टर मिलान तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी हेलास भेरोनासंग २–२ को बराबरीमा रोकिएको हो ।
भेरोनाको घरेलु मैदान स्टाडियो मार्काटोनियो बेन्टेगोडी रंगशालामा भएको खेलमा इन्टरका लागि मार्को अर्नाउटोभिकले दुई गोल गर्दा घरेलु टोलीका लागि भने टिजानी नोस्लिन र टोमस सुस्लोभले समान एक-एक गोल गरे ।
खेल सुरु भएको १० औं मिनेटमा मार्कोले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, १६ औं मिनेटमा टिजानीले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १-१ को बराबरीमा अयो ।
त्यसपछि ३७ औं मिनेटमा टोमसले गोल थप्दा भेरोना २-१ ले अघि बढ्यो । तर, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मार्कोले इन्टरका लागि गोल फर्काउँदा खेल २-२ को बराबरीमा आयो ।
त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट गोल ननिस्केपछि खेल २-२ को बराबरीमा सकियो ।
बराबरीसंगै लिग च्याम्पियन इन्टरले ३८ खेलबाट ९४ अंक जोडेको छ । भेरोनाले भने समान ३८ खेलबाट ३८ नै अंक जोडेर तालिकाको १३ औं स्थानमा रहेर लिग अन्त्य गरेको छ ।
