काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज दोस्रो अन्तर कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट र जेभियरले शनिबार सेमिफाइनलमा जित हात पार्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शनिबार भएको पहिलो सेमिफाइनलमा गोल्डेनगेटले ब्लुबर्डलाई ३७-३४ अन्तरले हरायो । गोल्डेनगेटकी आयुशा महर्जनले सर्वाधिक १० अंक स्कोर गरिन् ।
यस्तै दोस्रो सेमिफाइनलमा जेभियरले ल्याण्डमार्क एकेडेमीलाई ३०-१५ ले हरायो । जेभियरकी स्मृति राईले सर्वाधिक १४ अंक स्कोर गरिन् ।
पाँच टोली सहभागि प्रतियोगितामा लिग चरणमा शीर्ष चारमा रहेका टोलीहरु सेमिफाइनल प्रवेश गरेका थिए । फाइनल खेल आइतबार हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि ब्लुबर्ड र ल्याण्डमार्कबीच खेल हुनेछ ।
