नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो ।
एपिएफ २५–२२, २५–१६ ,२२-२५ र २५–१२ को सेटमा न्यु डायमन्डलाई पराजित थियो । एपिएफले कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरेको छ ।

एपिएफकी जमुना सेन्च्युरी प्लेयर अफ दि म्याच भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी फणीन्द्र आचार्यलगायतले ५ हजार र ट्रफी प्रदान गरे ।
आजको जितसँगै एपिएफले भोलि हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको छ ।
पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।
पुलिसले ६–२५, १५–२५ र १७–२५ को सोझो सेटमा आर्मीलाई स्तब्ध पारेको थियो । पुलिसले कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरेको छ । पुलिसकी एलिसा मानन्धर प्लेयर अफ दि म्याच घोषित भइन् । उनले नगद ५ हजार र ट्रफी प्राप्त गरिन् ।
फाइनल खेल आइतवार दिउँसो १ बजेदेखि हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले समान १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।
