ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् ।
आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार देखि शुरु भई पाँच दिन सम्म चल्नेछ । टिम स्पर्धामा २ हजार रेटिङ माथिको एक तथा अन्य चार गरि ५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
यस स्पर्धामा नेपालका २४ टिमको सहभागिता सुनिश्चित भएको छ । जस मध्ये आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर जिल्ला बुद्धिचाल संघ, साबिक विजेता थापाथली क्लब चेस पार्क, दोलखा चेस होम रहेका छन् ।
यस्तैगरी भक्तपुर जिल्ला बुद्धिचाल संघ, सप्तरी जिल्ला बुद्धिचाल संघ, मध्यपुर नगरपालिका बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, सुदुरपश्चिम बुद्धिचाल संघ, मेचि नगरपालिका, पाँचथर जिल्ला बुद्धिचाल संघ, बुटवल उपमहानगरपालिका रहेका छन् ।
यस्तै युथ स्टेपस् टुवार्थ चेञ्ज, पूर्वेली ब्रदर्श टिम, कुमारीपाटी चेस क्लब, हिमालयन चेस एकेडेमी, काठमाडौँ चेस क्लब, ललितपुर चेस क्लब, पुल्चोक चेस क्लब, दोलखा जिल्ला बुद्धिचाल संघ रहेका छन् ।
ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन कलेजमा सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछ । यस्तै उप विजेता टिमले नगद १ लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार पुरस्कार ग्रहण गर्ने छन् । पाँचौं देखि सातौं सम्मका टिमले समान २० हजार तथा ब्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार हात पार्नेछन् ।
आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले आठौं संस्करणको तुल्सीलाल स्मृति राष्ट्रिय चेस प्रतियोगिता बाग्मती प्रदेश सरकार तथा ललितपुर महानगरपालिकाको सहयोगमा नियमित सञ्चालन भइरहेको अवगत गराउदै समाचार संप्रेषण गरिदिन सबै सञ्चारकर्मीहरुमा अपील गरेका छन् ।
