नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।
पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ सुरक्षित गरेको छ ।
पुलिसकी एलिसा मानन्धर प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ५ हजार र ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताअन्तर्गत अन्तिम सेमिफाइनल खेल आज दिउँसो २ बजे समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बि’ को उपविजेता न्यु डायमन्डबीच हुनेछ ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल भोलि हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार, स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।
