एएफसी एसियन च्याम्पियन्स लिगको उपाधि अल-एनले जितेको छ।

गएराति सम्पन्न फाइनलको दोस्रो लेगमा जापानको योकोहामा एफ मारिनोसलाई ५-१ ले हराउँदै युएईको अल- एन च्याम्पियन बनेको हो।

पहिलो लेगमा २-१ ले पछि परेको अवस्थालाई उल्टँदै घरेलु लेगमा एकतर्फी प्रदर्शन गरेको अल-एनले समग्रमा ६- ३ को नतिजासहित २१ वर्षपछि पहिलो पटक महादेशीय उपाधि जितेको हो।

युएईको हजा बिन जायद स्टेडियममा खेलको आठौं मिनेटमा सुफियन रहिमीले पहिलो गोल गरे। ३३ औं मिनेटमा अलेजान्ड्रो रोमेरोले पेनाल्टीमा गोल गरे। ४० औं मिनेटमा योकोहामाका यान म्याथ्युजले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे।

पहिलो हाफको इन्जुरी समयको १० औं मिनेटमा विलियम पोप खालिद इसामाथि फाउल गरेपछि रातो कार्डको सामना गर्नुपर्यो। त्यसपछि योकोहामा १० खेलाडीमा सीमित भयो।

६७ औं मिनेटमा रहिमीले ब्याक्तिगत दोस्रो गोल गरे। दोस्रो हाफको इन्जुरी समयमा कोडजो लाबाले लगातार २ गोल गरेपछि अल-एन समग्रमा ६-३ को नतिजासहित च्याम्पियन बन्यो।

युएईको सबैभन्दा सफल क्लब अलएनले २००३ मा पहिलो संस्करणको प्रतियोगिता जितेको थियो। यो टिम सन् २००५ र २०१६ मा उपविजेता बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *