आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । टीआईए ब्वाइज तथा भ्याली पब्लिक गल्समा च्याम्पियन बने ।
हात्तीगौडास्थित घरेलु कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा टीआईएले निम्सलाई ४०-३७ ले पराजित गर्यो । टीआईएका सुमन नगरकोटीले १५ अंक जोडे । विल्सन एकेडेमी तेश्रो भयो ।
गल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले चेल्सी वल्ड स्कुललाई २५-१५ ले हरायो। भ्याली पब्लिककी लोरिशा गौचनले १२ स्कोर गरिन् । ग्रिनल्यान्ड तेश्रो बन्यो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशा आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव दीपक लामा, टीआईएका निर्देशक कर्मा सोनाम वाङदी शेर्पा, टीआईएकी प्रिन्सिपल निरा प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा २४ तथा गल्समा १६ गरी ४० टिमले प्रतिस्पर्धा गरेको टीआईएका इसीए सीसीए प्रमुख उज्ज्वल रिजालले जनाएका छन् ।
