झापा । विभागीय टोली एपिएफ फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किमस्थित सिङ्लिङ स्पोर्टिङ क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो ।

एपीएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङले ह्याट्रिक पूरा गर्दा अनिता बस्नेतले दुई तथा सविता राना मगर र अनिता केसीले समान एक-एक गोल गरे ।

खेलको २९औं मिनेटमा सविता राना मगरले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । त्यसपछि ३८औं मिनेटमा अनिता बस्नेत एपिएफका लागि दोस्रो गोल गरिन् । ४१औं मिनेटमा रश्मीकुमारी घिसिङले अर्को गोल थप्दा एपिएफ ३-० गोलले अघि बढ्यो ।

पहिलो हाफको इन्जुरी समयमा रश्मी र अनिता बस्नेत दुबैले ब्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफले पहिलो हाफमा नै ५-० अग्रता लियो ।

दोस्रो हाफमा एपिएफले थप २ गोल गर्‍यो । ७१औँ मिनेटमा अनिता केसीले एपिएफका लागि छैटौं गोल गरिन् । खेलको ८३औं मिनेटमा रश्मीले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन् ।

खेलको प्लेयर अफ द म्याच रश्मि घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । अब एपीएफले सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फूटबल क्लब र आरएस पोखरा एफसीबीचको विजेतासँग खेल्नेछ । 

बुधबारको तेस्रो क्वार्टरफाइनलमा आयोजक झापा एफसी र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

कुल ८ टोली सहभागी प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *