काठमाडौं । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ ।

विजयी दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को सेमी कभर्डहलमा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा अधिकांश फुल कन्ट्याक्ट करातेका खेलाडी हुन् । सम्मानित हुनेमा अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा रहेका छन् ।

बविता, रोचक र पूजाले किक बक्सिङ र फुल कन्ट्याक्ट विधामा स्वर्ण, सागरले किक बक्सिङमा स्वर्ण फुल कन्ट्याक्टमा रजत तथा सुदर्शनले किक बक्सिङमा रजत फुल कन्ट्याक्टमा स्वर्ण हात पारेका थिए । सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउत क्षेत्रीलाई पनि सम्मान गरियो ।

श्रीलंकामा भएको दक्षिण एसियाली फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौलसमूहमा नेपाललाई स्वर्ण दिलाएका सनि सिंह, जापानमा भएको तेजुका कप फुल कन्ट्याक्ट कराते प्रतियोगिताको एकल कातामा कांस्य विजेता दावा शेर्पा र थाइल्यान्डमा भएको १२औं विश्व स्ट्रेन्टलिफ्टिङ तथा इन्क्लान बेन्च प्रेसको पुरुष ५० वर्षमाथि ७६ केजीमा स्वर्ण जितेका केदारमान स्थापित पनि सम्मानित भए । नेपाल फुल कन्ट्याक्ट कराते महासंघका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बुढाथोकीलाई पनि सम्मान गरियो ।

उनीहरुलाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य जगतसिंह धामी र नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघका अध्यक्ष वीरकृष्ण महर्जनले एक कार्यक्रमबीच सम्मान गरे। सो अवसरमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघ महासंघका कोषाध्यक्ष समेत रहेका महर्जनले तिहारपछि महासंघले आकर्षक पुरस्कार राशीको प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । महासंघका अध्यक्ष बुढाथोकीले फुल कन्ट्याक्ट करातेलाई राष्ट्रपति रनिङ सिल्डमा समावेश गर्न महासंघले पहल गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *