काठमाडौं । नेपाली फुटसल इतिहासकै सर्वाधिक धनराशि पुरस्कार रहेको दोस्रो ‘हिमालयन फुटसल गोल्डकप २०८२’को उपाधि आयोजक हिमालयन एफसीले रक्षा गरेको छ ।

राजधानीको चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रबार सम्पन्न फाइनलमा हिमालयन एफसीले ठमेल एकता क्लबलाई १-० गोलले पराजित गन्दै उपाधि रक्षा गरेको हो । प्रतिस्पर्धात्मक फाइनलमा एक मात्र निर्णायक गोल हिमालयन एफसीका श्रीकृष्ण श्रेष्ठले गरेका थिए ।

विजयी हिमालयन एफसीले सिल्ड, रनिङ ट्रफी, मेडलसहित नगद ३ लाख रुपैयाँको चेक भौचर आफ्नो पक्षमा पार्यो भने उपविजेता टिम ठमेलले नगद १ लाख, मेडल र रनरअप ट्रफी हात पार्यो ।

हिमालयन एफसीका दीपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिंदा ठमेलका लाक्पा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुबैजनाले क्रमश १० हजार रुपैयाँ प्राप्त गरे । फेयर प्ले टिमको उपाधिसहित थोक्रे एफसीले नगद २० हजार रुपैयाँ हात पार्यो । हिमालयन एफसीका सुरेश श्रेष्ठ र सन्दीप तामाङले क्रमशः उत्कृष्ट प्रशिक्षक र व्यवस्थापक चुनिंदै ५ हजार हात पारे ।

नेपाल प्रहरीका डिएसपी सुकदेव खनाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव वैकुण्ठराज पराजुली, वागमती फुटबल संघका उपाध्यक्ष राजीवमान बस्नेतले विजयी टिम तथा विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

आयोजक हिमालयन एफसीका अध्यक्ष विनोद कार्कीले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिको उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको भन्दै सफलतापूर्वक सम्पन्न गर्न साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। कार्कीले यो प्रकारको सफलताले आगामी दिनमा थप उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने ऊर्जा प्रदान गरेको बताए ।

३८ टिम सहभागी प्रतियोगिता दुई दिनसम्म चलेको थियो । गतबर्ष २ लाख धनराशिको पुरस्कारसहित गोल्डकप सुरू गरेको हिमालयन एफसीले यो पटकबाट रनिङ ट्रफीसमेत सुरू गरेको हो। आयोजक हिमालयन एफसी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *