दुहबी । सुनसरीको दुहबीमा जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा मधेशा युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सिमरियास्थित श्री जनता माविको खेलमैदानमा मंगलबार भएको खेलमा गोल्डेन स्टार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मधेशा अन्तिम आठमा प्रवेश गरेको हो ।

मधेशाले गोल्डेन स्टारविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मधेशाको जितमा दुबै गोल निबेश फुयालले गरे । गोल्डेन स्टारका लागि सुजन सरदारले गोल गरेका थिए ।
खेलको दोस्रो मिनेटमा नै सुजनले गोल गर्दै गोल्डेन स्टारलाई अग्रता दिलाएका थिए । तर, निबेशले २७औं मिनेटमा मधेशाका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको ५२औं मिनेटमा निबेशले ब्यक्तिगत दोस्रो गोल गर्दै मधेशालाई २-१ को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता निबेश फुयाल घोषित भए । उनले नगद ११०० र ट्रफी प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आज बुधबार संयुक्त युवा क्लब र जनचेतना युवा क्लबबीच पहिलो क्वार्टरफाइनल खेल हुनेछ ।
संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार तथा उपविजेताले नगद २१ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल असार ३२ गते हुनेछ ।
