ललितपुर । नेपाल खेलकुद पत्रकार मञ्चको हालै सम्पन्न साधारण सभाबाट निर्वाचित हुन सफल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई एक समारोह बीच नेपाल बुद्धिचाल महासंघले सम्मान गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ललितपुर जिल्ला समन्वय समितिका अध्यक्ष ऋषि फुयालले सम्मान गरेका छन् ।
बधाई तथा सम्मान कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष दुर्गानाथ निरञ्जन अधिकारी, प्रथम उपाध्यक्ष प्रज्वल ओली, उपाध्यक्ष द्वय सञ्जीव शिल्पकार र गोविन्द रेग्मी, महासचिव अन्जन खड्का, सचिव अनिल मल्ल ठकुरी र कोषाध्यक्ष मुना कार्की लाई सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैगरी खुला सदस्यतर्फ निर्वाचित रमेश सुवेदी, कवीरस शर्मा, अभिनव जोशी र महिला सदस्य नमिता दाहाल सम्मानित भएका छन् ।
सम्मान ग्रहण गर्दै नेपाल खेलकुद पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष प्रज्वल ओलीले खेल संघहरुको उत्कृष्ट गतिविधिले खेलाडीहरूको भविष्य निर्धारण हुने धारणा राख्दै नेपाल बुद्धिचाल महासंघको क्रियाकलाप प्रति विश्वस्त रहने ठाउँ धेरै भएको अभिव्यक्ति दिएका छन् ।
का.वा. अध्यक्ष प्रज्वल ओलीले नेपाल खेलकुद पत्रकार मञ्च नेपाली खेलक्षेत्रलाई विशुद्ध खेल क्षेत्रको बृहत्तर विकासको निम्ति पहली कदम गरिरहने बताएका छन् ।
आम नेपाली नागरिकहरूलाई खेल क्षेत्रको विषयमा सुसुचित गराउने, नेपाल सरकार र यस अन्तर्गत रहेका सम्पूर्ण तहगत खेल क्षेत्रलाई नेतृत्व प्रदान गर्नेहरूप्रति चनाखो रहेर यथार्थ परक खेल समाचारहरूको सम्प्रेषण गर्ने कार्यप्रति प्रतिबद्धता जनाउनु भएका छन् ।
बधाई तथा सम्मान कार्यक्रम सँगसँगै वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै ललितपुर जिल्ला विकास समन्वय समितिका अध्यक्ष ऋषि फुयालले पत्रकारहरू खेलाडी र खेल संघको पुलको भूमिकामा रहनुपर्ने विचार राख्दै विजयी खेलाडीहरूलाई प्रगतिको कामना गरेका छन् ।
