ब्राजिलका सबैभन्दा धेरै गोल गर्ने खेलाडी नेयमारले आफ्नो बाल्यकालको क्लब सान्तोससँग डिसेम्बरसम्मको लागि नयाँ सम्झौता नवीकरण गरेका छन् ।
३३ वर्षीय नेयमार यस वर्ष जनवरीमा साउदी प्रो लिगको क्लब अल-हिलालसँगको सम्झौता अन्त्य भएपछि ६ महिनाको सम्झौतामा सान्तोस फर्किएका थिए ।
नेयमारले सान्तोसका लागि २ सय ४३ खेल खेल्दा १ सय ४१ गोल तथा ६९ असिस्ट गरेका छन् । पेरिस सेन्ट जर्मेन र बार्सिलोनाका पूर्व फरवार्ड नेयमारलाई युरोप फर्कने चर्चा भइरहेका बेला उनले ब्राजिलियन सेरी ए सिजनको अन्त्यसम्मको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
‘मैले निर्णय लिएँ र आफ्नो हृदयको आवाज सुनें,’ नेयमारले भने, ‘सान्तोस मेरो टिम मात्र होइन, मेरो घर, मेरो मूल, मेरो इतिहास र मेरो जीवन हो । यहीँ म बालकबाट पुरुष बनें, र यहीँ मैले साँच्चै माया पाइरहेको छु । यहीँ म आफ्नो वास्तविक रूपमा खुसी हुन सक्छु ।’
‘यहीँ मैले आफ्नो अधुरा सपना पूरा गर्न चाहन्छु, र मलाई कसैले रोक्न सक्दैन । म जान्छु, फर्कन्छु, अनि यहीँ रहन्छु जहाँ सबै सुरु भयो, र कहिल्यै अन्त्य हुनेछैन,’ उनले थपे ।
नेयमारलाई १७ महिनापछि मार्चमा ब्राजिल टिममा पुनः बोलाइएको थियो । तर उनी कोलम्बिया र अर्जेन्टिना विरुद्धको विश्वकप छनोट खेलहरूमा सहभागी भएनन् ।
उनले ब्राजिलका लागि १ सय २८ खेलमा ७९ गोल गरेका छन् । तर २०२३ अक्टोबरमा उरुग्वेविरुद्ध घुँडामा चोट लागेपछि राष्ट्रिय टोलीका लागि खेलेका छैनन् ।
