बिभागीय टोलि एपिएफ फुटबल क्लबले मकवानपुरको हेटौंडामा भएको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
यो सँगै एपिएफ इलाम, चितवन, नेपालगन्जपछि लगातार चौथो पटक उपाधि जित्ने विभागीय टिम बनेको छ ।
बिहीवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।
उपाधिसँगै एपिएफले ७ लाख र उपविजेता पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
निर्धारि समय गोलरहित बराबरीमा भएपछि टाइब्रेकरमा एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरे । रश्मि कुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाइन् ।
पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् । पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर बचाइन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किए भने सुस्मा तामाङकी प्रहार बाहिरिइन् ।
खेलको प्लेयर अफ दि म्याच एपिएफकी गोलरक्षक अञ्जना राना मगर घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
एपिएफका अञ्जना राना मगर उत्कृष्ट गोलरक्षक , रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, जिवेश कुमार पाण्डे उत्कृष्ट प्रशिक्षक र रश्मि घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै पुलिसका मिना देउवा उत्कृष्ट फरवार्ड र समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर घोषित भइन् । रश्मिले स्कुटर र विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरे ।
एपिएफले संकटा क्लबलाई र पुलिसले चितवनको महिला टिमलाई पराजित गर्दै फाइनल पुगेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख १९ गतेबाट सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।
