विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशीप २०२५ मा सहभागी हुने कोशी प्रदेशका खेलाडीहरूलाई विदाइ गरेको छ ।
आज विराटनगर स्थित बोर्ड परिसरमा कार्यक्रम गर्दै बोर्डले राष्ट्रिय जुडो संघको आयोजनामा वैशाख ३ देखि ५ गते सम्म काठमाण्डौमा हुने च्याम्पियनशीपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई विदाइ गरेको हो ।
खेलाडी विदाइ कार्यक्रममा बोल्दै खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेलाडीहरूलाई च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शनका निम्ति शुभकामना व्यक्त गरे । बस्नेतले राष्ट्रिय स्तरको प्रतियोगिताका विजेताहरूलाई बोर्डले नगदसहित सम्मान गर्ने गरेको स्मरण गर्दै च्याम्पियनशीपका विजेताहरूको समेत बोर्डले उचित मूल्याङ्कन गर्ने बताए ।
बस्नेतले हालै सम्पन्न प्रथम कोशी प्रदेश खेलकुद महोत्सव तथा च्यापियनशीप जस्ता प्रतियोगिता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि महत्वपूर्ण सिकाई हुने बताउँदै खेलाडीहरूलाई बोर्डको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
बोर्डका कार्यलय प्रमुख कालिदास भट्टराईलाई प्रतियोगितामा विभिन्न वजन समूहको स्पर्धामा कोशी प्रदेशबाट २५ जना खेलाडी र ३ जना प्रशिक्षकको सहभागिता रहने जानकारी दिए ।
