सुदुपश्चिम प्रदेश कराते महासंघको आयोजनामा धनगढीमा चैत्र २७ गतेदेखि सञ्चालन भएको ‘प्रथम सुदुरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१’ सम्पन्न भएको छ ।
प्रतियोगितामा २५ स्वर्णपदक प्राप्त गर्दै कैलाली जिल्लाले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ । त्यस्तै १८ स्वर्णका साथ कञ्चनपुर जिल्ला द्वितीय र ३ स्वर्ण सहित अछाम जिल्ला तृतीय भएका छन् ।
धनगढीमा आयोजित प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका करिब ७०० खेलाडी, ५० रेफ्री तथा प्रशिक्षक र व्यवस्थापकगरि ८०० भन्दा बढी करातेकर्मीहरुको सहभागिता रहेको थियो ।
विजयी खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय प्रकाशबहादुर देउबाले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्याक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनार, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री लगायत बिभिन्न खेल संघसंस्थाका पदाधिकारी, प्रशिक्षक, सरकारी कर्मचारी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
सो अवसरमा पूर्व तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दिपक उपाध्यायलाई सामाजिक कार्यमा उत्कृष्ट सेवाकार्य गरेवापत नगद सहित सम्मान गरिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारद्वारा “स्वास्थ्य राजदुत” पदमा नियुक्त हुनुभएका उपाध्यायले हालसम्म १०८ पटक रक्तदान गरेका छन । त्यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय कराते खेलाडी पुष्पा मडैलाई पनि सम्मानित गरिएको थियो ।
प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न कैलाली जिल्ला खेलकुद समिति, कैलाली उद्योग बाणिज्य संघ र ठाकुर ग्रुपले संस्थागत सहयोग गरेका थिए ।
त्यस्तै हाल अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु मकेन्द्र बहादुर सिंह, जनक सिंह खड्का, परमेश्वर चौधरी र कैलाली जिल्ला कराते संघका संस्थापक अध्यक्ष समेत रहनुभएका कर्ण बहादुर चन्द, अन्तर्राष्ट्रिय कराते खेलाडी स्व. परशुराम चौधरीको परिवारजन तथा अन्तर्राष्ट्रिय कराते खेलाडी अशोक शाहले व्यक्तिगत रुपमा सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयले जानकारी गराएका छन् । साथै पाण्डेले आगामी वर्षमा पनि प्रतियोगिताालाई निरन्तता दिने बताउँदै प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
यसअघि चैत्र २७ गते प्रतियोगिताको उद्घाटन प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नु भएको थियो । सो अवसरमा प्रतिनिधिसभा सदस्य माननीय डिल्लीराज पन्त र नेपाल कराते महासंघका संस्थापक अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष दावा गुरुङ विशिष्ट अतिथिका रुपमा उपस्थिति रहेका थिए ।
