हङकङमा जारी चार देशीय टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीवार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । 

यो नेपालले टी-२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो । यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको सबैभन्दा उच्च सफल चेज थियो  ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

यो साझेदारी पनि नेपालको टी-२०आईमा सबैभन्दा उच्च ओपनिङ साझेदारी हो । यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो ।

दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको क्यामिओ पारी खेल्दै फिनिसिङमा मद्दत गरे । कुवेतका लागि यासिन पटेलले दुई तथा मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामले समान एक विकेट लिए ।

त्यसअघि मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रनको योगफल तयार पारेको हो ।

कुवेतका लागि क्लिन्टो एन्टोले ४१, मीत भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, कप्तान मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३, नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा बुधबार नेपालले कतार तथा कुवेतले हङकङलाई पराजित गरेका थिए । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *