नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२० आई क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।
ऐरीले करिअरमा डक आउट अर्थात् शून्य रनमा आउट नभएर सबैभन्दा धेरै इनिङ्स खेल्दै नयाँ कीर्तिमान बनाएका हुन् । दीपेन्द्र टी-२० आई करिअरमा अहिलेसम्म डक आउट भएका छैनन् ।
कीर्तिमान बनाउने क्रममा ऐरी टी-२० आईमा अहिलेसम्म ६६ इनिङ्समा डकआउट भएका छैनन् । ७६ इनिङ्स खेलेका दीपेन्द्रले १० खेलमा ब्याटिङ नै गर्न पाएका छैनन् ।
हङकङमा जारी चारदेशीय टी-२० सिरिजमा ऐरी कुवेतविरुद्ध ३१ रन बनाएर पभिलियन फर्किएका थिए । कुवेतविरुद्ध १२ बल खेलेका ऐरीले ३ छक्का र २ चौका प्रहार गरेका थिए ।
टी-२० आईमा सबैभन्दा धेरै डक आउट नभई खेल्ने खेलाडीको सूचीको दोस्रो नम्बरमा वेस्ट इन्डिजका मार्लन सामुयल्स छन् । मार्लनले ६५ इनिङ्समा डक आउट नभई खेलेर कीर्तिमान बनाएका थिए ।
यसअघि टी-२०आईमा ऐरीले ९ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए । सँगसँगै ऐरी एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गर्ने खेलाडी पनि हुन् ।
