धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा वैशाख १७ गतेदेखि साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
आयोजक डाँडाबजार फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख १७ देखि २० गते सम्म साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप हुन लागेको जानकारी दिएको हो ।
डाँडाबजार खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ३ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद १ लाख ५५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक डाँडाबजार फुटबल क्लबले जनाएको छ ।
हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
प्रतियोगितामा आयोजक डाँडाबजार फुटकल क्लब, धनकुटा कै चौविसेको रारा फुटबल क्लब, गाइघाट फुटबल क्लब उदयपुर सहित धनकुटा, मोरङ र सुनसरीका गरी ८ टिमको सहभागिता रहने अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो ।
प्रतियोगितामा २२ लाख ७३ हजार ६ सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगितामा सहभागी टीमले फाइनल खेल बाहेक एक खेल खेले बराबर ३० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
प्रतियोगिताको लागि साँगुरीगढी गाउँपालिकाले ७ लाख, वडा नं. ५ कार्यालयले ३ लाख, जंगबहादुर थापा स्मृति प्रतिष्ठानले ३ लाख, डाडाबजार ब्रदर हुडले १ लाख रुपैयाँ सहयोग गरेका छन् । गतवर्ष प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार पुरस्कार पाएका थिए ।
गतवर्ष धरान फुटबल क्लब विजेता र तालतलैया फुटबल क्लब सुनसरी उपविजेता भएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गाउँपालिकाले हरेक वर्ष १ करोड बढी खेलमा लगानी गरि रहेको जानकारी दिनुभयो । उहाँले खेलकुदमा गरेको लगानी चाँडो प्रतिफल नदेखिने भएकाले समस्या भएको बताउँदै यस प्रतियोगितालाई आगामी वर्ष देखि रनिङ शिल्ड बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
