विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैठौं जित हासिल गरेको छ ।

सोमबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको २२४ रनको लक्ष्य एपीएफले ४१.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

एपिएफका लागि पूर्ण विक र रोहित पौडेलले अर्धशतक प्रहार गरे । पूर्णले अविजित ७२ रनको योगदान गरे । यसैगरी रोहितले ९४ बलमा सात चौकासहित ७१, सन्दीप जोराले अविजित २१, लोकेश बमले २१ र आसिफ शेखले १८ रन बनाए ।

लुम्बिनीका लागि तीनै विकेट राजेन्द्र बमले लिए ।

त्यसअघि एक्स्ट्रा टेक ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२३ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ६३ रन बनाए । उनले ७९ बलमा चार चौका प्रहार गरे । यसैगरी मृनल गुरुङले ५५, आकाश त्रिपाठीले २२ र प्रज्ज्वल थापाले २० रन जोडे ।

एपीएफका लागि अमर रौतेला र अभिषेक गौतमले समान ३ तथा मौसम ढकालले २ विकेट लिए ।

जितसँगै ८ खेलबाट १२ अंक जोडेको एपीएफ अंक तालिकाको तेस्रो स्थानमा छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको लुम्बिनीको ९ खेलमा ८ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *