बागमती प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित हासिल गरेको छ ।
सोमबार भएको खेलमा बागमतीले कर्णालीलाई ९ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले ६.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
बागमतीका लागि इशान पाण्डेले २२, आशुतोष घिरैयाले अविजित १९ र शुभ कंसाकारले अविजित १६ रन बनाए । कर्णालीका लागि एकमात्र विकेट दीपेन्द्र रावतले लिए ।
त्यसअघि दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली १९.१ ओभरमा ५८ रनमै अलआउट भएको थियो ।
कर्णालीका लागि सुनिल धमलाले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि रिजन ढकालले ८.१ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी सूर्य तामाङको नाममा चार विकेट रह्यो । रिजन प्लेयर अफ दि म्याच घोषित भए ।
दुवै टोली पिएम कपको फाइनल दौडबाट बाहिरिसकेको छन् । बागमती ८ खेलमा चौथो जितपछि ८ अंकसहित तालिकाको चौथो स्थानमा छ । समान खेलमा समान अंकसहित कर्णाली पाँचौं स्थानमा छ ।
