कालाबन्जर (सुनसरी) । वराहक्षेत्रको कालाबन्जरमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा हनामी भरतपुर फुटबल क्लब चितवन सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार वराहक्षेत्र-५ कालाबन्जरस्थित श्री भरौल जडेज खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा आर.टि.एफसी मलेसियालाई २-१ गोलले हराउँदै हनामीले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो ।

हनामीको जितमा राज भुषाल र विदेशी खेलाडी इटोले गोल गरे । मलेसियन क्लबका लागि विदेशी खेलाडी रिजर्ड विल्सनले एक गोल फर्काए ।

खेलको म्यान अफ द म्याच हनामीका राज भुषाल घोषित भए । उनले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल नमो बुद्घ युवा क्लब सप्तरी र नेपाल पुलिस क्लब काठमाडौंंबीच प्रतिस्पर्धा हुनेछ ।

चैत्र ९ गतेसम्म चल्ने प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ तथा उपविजेता हुने टोलीलाई २ लाख रुपैयाँसहित नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ ।

प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सार्वधिक गोलकर्तालाई जनही १०-१० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *