भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ ।
आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ ।
महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा सहभागीले १० किलोमिटर दौडिनुपर्ने स्थानीय प्रशिक्षक तथा प्रतियोगिताका सम्पर्क व्यक्ति प्रशान्त जिज्ञाशुले जानकारी दिए । यु १३ को ६ किलोमिटर दौड राखिएको छ ।
महिला/पुरुष खुलाका विजेताले ११ हजार, दोस्रोले ८ हजार, तेस्रोले ५ हजार तथा चौथो र पाँचौँ ले १ हजार ५ सय रुपैयाँ पाउने छन् ।
त्यस्तै, यु १८ र यु १३ का विजेताले ९ हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिको विजेताले ७ हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पाउनेछन् ।
