नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी फुटबल क्लबले स्कटिस मिडफिल्डर फ्याङ्क रोसलाई अनुबन्ध गरेको छ ।

बुटबलले एनएसएलको तेस्रो संस्करणका लागि रोससँग सम्झौता गरेको हो । उनले स्कटल्यान्डको यु-१५, १६, १७ र १९ टोलीबाट खेलिसकेका छन् ।

रोससँग स्कटल्यान्ड, नेदरल्यान्ड्स र अमेरिकाको लिग खेलेको अनुभव छ ।

रोस लुम्बिनी भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । यसअघि क्लबले नाइजेरियन मिडफिल्डर इजेकिएल ओजिदीझा तमारा र इ‌ङ्लिस रक्षक नाथन माभिलालाई भित्र्याएको थियो ।

राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगीलाई मार्की बनाएको बुटवलले भुटानका पुष्पलाल शर्मालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ बाट सुरु हुँदैछ । बुटवलले चैत १७ मा झापा एफसीसँग खेल्दै प्रतियोगिताको शुरूवात गर्नेछ ।

प्रतियोगिताको तेश्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीसहित बुटवल लुम्बिनी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी चितवन र धनगढी एफसी गरि ७ टोली सहभागि हुँदैछन् ।

गत संस्करणमा खेलेका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसी यस पटक सहभागि हुने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *