सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बुधबार स्पोर्टस एकेडेमी साँगाले गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा साँगालाई जित दिलाउन सामुइल सुनार राजहर्मेल सुनारले गोल गरे । गोलबजारका लागि जमिरदीन मियाले एक गोल फर्काए ।
जितसँगै आठ खेलमा १२ अंक जोडेको साँगा छैटौं स्थानमा उक्लिएको छ । पराजित गोल बजार समान खेलबाट पाँच अंकका साथ पुछारमा छ ।
खेलको २६औं मिनेटमा सामुइलको गोलमार्फत साँगाले अग्रता लिएको थियो । ७१औं मिनेटमा जसिरले गोल बजारलाई बराबरीमा ल्याए ।
इन्जुरी समयमा राजले गोल गर्दा साँगा २-१ ले विजयी भयो ।
बुधबार नै सम्पन्न खेलमा स्वयम्भू क्लब र मनोहरा युनाइटेड युवा क्लब २-२ को बरारबीमा रोकिए ।
