नमोबुद्ध पाँचथर गोल्डकप फाइनलमा

२०८१, ३० फाल्गुन शुक्रबार ०९:०८

टाइब्रेकरमा भाग्यमानी बन्दै सप्तरीको नमोबुद्ध युथ क्लब पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको मैदानमा बिहिवार भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।

९० मिनेटको निर्धारित समयमा २-२ को बराबरी भएपछि टाइब्रेकरमा नमोबुद्धले बाजी मार्यो ।

टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष मगर, अनिल मगर र विवेक राईले गोल गरे । चर्च ब्वाइजका लागि विदेशी खेलाडी र सागर तिरुवाले मात्र गोल गरे। अभिषेक महतो र फोफोनाको प्रहारलाई गोलकिपर जियरथ शेखले रोके ।

यसअघि खेलको ३३औं मिनेटमा नमोबुद्धका जेनिश प्रजापतिले गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर, पहिलो हाफको इन्ज्युरी समयमा चर्च ब्वाइजका ध्रुव राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै, ६१औं मिनेटमा नमोबुद्धका जेनिशले फेरि गोल गर्दै २-१ को स्थितिमा ल्याए । चर्च ब्वाइजका राज भुषालले खेलको ८५औं मिनेटमा गोल गरेर बराबरी बनाए ।

म्यान अफ दि म्याच दुई प्रहार रोकेका नमोबुद्धका गोलरक्षक जियारथ शेख बने । उनले नगद ७ हजार ५ सय रुपैयाँ पाए ।

नमोबुद्धको जितसँगै मच्छिन्द्र एफसीसँग फाइनलमा भेट पक्का गरेको छ । पाँचथर क्लबले आयोजना गरेको गोल्डकपको विजेताले ११ लाख १ हजार रुपैयाँ र दोस्रोले ५ लाख ५५ हजार रुपैयाँसहित ट्रफी पाउने छ । फाइनल चैत २ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *