विराटनगर । नवौं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्बलले जितेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गर्दै थ्री स्टार च्याम्पियन बनेको हो ।

थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले स गोल गरे ।

थ्री स्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नविन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए ।

थ्री स्टारले दोस्रो गोल ६३औं मिनेटमा गर्यो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । फर्किएको बललाई पुनः दिपेशले प्रहार गर्दै जाली चुमाए । उनले गरेको गोल टिमलाई उपाधि दिलाउन सफल भए ।

उपाधिसँगै थ्री स्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपबिजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो ।

थ्री स्टारले पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३-० गोलले फाइलनमा हराउँदै थ्री स्टारले उपाधि हात पारेको थियो ।

चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजले बलियो चुनौती पेस गर्न सकेनन् ।

फाइनल खेलको म्यान अफ द म्याच थ्री स्टारका कप्तान एकराज बुढाथोकी घोषत भए । उनले नगद ११ हजार पाए ।

विधागत पुरस्कारमा पनि थ्री स्टारको बर्चश्व कायम भयो । उत्कृष्ट प्रशिक्षकमा थ्री स्टारका गणेश खड्का घोषित भए । त्यसैगरी बेस्ट गोलकिपर थ्री स्टारका विवेक मगर, हाइस्कोर थ्रीस्टारका दिपेश घले घोषित भए । प्रतियोगिताभरीमा उनले दुई गोल गरेका थिए । उनीहरुले जनही नगद १५ हजार पाए । बेस्ट प्लेर अफ टुर्नामेन्ट थ्री स्टारका खेम राज श्रेष्ठ घोषित भए । उनले नगद ५१ हजार पाए ।

थ्री स्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको थियो । थ्री स्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २-१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३-२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो ।

यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । चर्च ब्वाईजले क्वाटरफाइनलमा एनआरटीलाई २-० ले र सेमिफाइनलमा पुलिसलाई १-० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो । बिजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भिम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्डकपको संयोजक नविन रिजाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *