नेपाल क्रिकेट संघ (क्यान) ले महिला खेलाडीको पनि ग्रेडिङ गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार १९ महिला खेलाडीहरु सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।
ग्रेडिङअनुसार महिलातर्फ चार खेलाडी ग्रेड ‘ए’ मा परेका छन् । यसपालि राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर रहेका छन् । यु-१९ राष्ट्रिय महिला टोलीकी कप्तान पूजा ‘सी’ ग्रेडबाट ‘ए’ मा पुगेकी हुन् ।
पूजाकै कप्तानीमा नेपालले गत जनवरीमा पहिलोपटक आइसिसी यू–१९ महिला क्रिकेट विश्वकप खेलेको थियो ।
यस्तै, ग्रेड ‘बी’ मा कविता जोशी तथा ‘सी’ मा कविता कुँवर र सम्झना खड्का रहेका छन् । ग्रेड ‘डी’ मा विन्दु रावल, रोमा थापा, ईश्वरी विष्ट, एलिसा यादव, साना प्रवीन, रिया शर्मा, सिमाना केसी, सावित्रा धामी, कृष्मा गुरुङ, ज्योत्स्निका मरासिनी, रचना चौधरी र मनीषा उपाध्यायले मौका पाएका छन् ।
क्यानका अनुसार ग्रेड ‘ए’ मा पर्ने महिला खेलाडीले ५० हजार, ग्रेड ‘बी’ काले ३५ हजार तथा ‘सी’ ग्रेडका खेलाडीले २५ हजार तथा ‘डी’ ग्रेडका खेलाडीले मासिक २० हजार रुपैयाँ पारिश्रमिक पाउने छन् ।
यसअघि क्यानले इमर्जिङ क्याटेगोरी समावेश गरेकोमा यस पटक हटाएको छ । ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ र त्यसपछि फेरि मुल्यांकन गरिने क्यानले जनाएको छ ।
