लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको हो । पुलिसले दिएको २५० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ७२ रन बनाए । उनले ९४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । यसैगरी मृनाल गुरुङले ३०, सलाहुद्दिन खानले १३ तथा कप्तान देव खनालले ११ रन बनाए ।
पुलिसका लागि सागर ढकालले १० ओभरमा ३२ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २३ रन दिएर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले २ तथा राशिद खान र कुशल भुर्तेलले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाएर २४९ रनको योगफल तयार पारेको थियो ।
पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । उनले ७५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यसैगरी आरिफ शेखले ५६, अमित श्रेष्ठले २२ र दिलीप नाथले ३४ रन बनाए । गुल्सन झा ३५ रन र रासिद खान ४ रनमा अविजित रहे ।
लुम्बिनीका लागि अजय चौहानले १० ओभरमा ३८ रन दिएर ३ विकेट लिए । कृष्ण कार्कीले ६ ओभरमा ४० रन दिएर ३ विकेट लिए ।
जितसँगै पुलिसले २ अंक जोडेको छ । पहिलो पराजय बेहोरेको लुम्बिनीको पनि दुई खेलबाट समान अंक छ ।लुम्बिनीले हिजो पहिलो खेलमा कोशी प्रदेशलाई २६ रनले पराजित गरेको थियो ।
