शहीद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाइटेडले बराबरी खेलेका छन् ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा च्यासल र वीरगंजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवैले समान एक अंक पाए ।
दुवै टोलीले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाए ।
तीन वर्षपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग आयोजना गरेको हो । लिगअन्तर्गत सोमबारदेखिको खेल भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
सोमबार दुई खेल हुनेछ । पहिलो खेल झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच १२:३० बजे सुरु हुनेछ भने ब्रिगेड ब्वाइज क्लब र श्री कुमारी क्लबबीच साढे ३ बजे दोस्रो खेल हुनेछ ।
लिगमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड गरि १४ टोलीबिच प्रतिस्पर्धा हुनेछ।
लिगको समाप्तीमा शीर्ष २ क्लब ‘ए’ डिभिजनमा बढुवा हुनेछन् । पुछारका २ क्लब ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
लिगको विजेता टोलीले १५ लाख , दोस्रोले १० लाख र तेस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । फेयर प्ले टोली र सर्वोत्कृष्ट खेलाडीले समान १ लाख तथा उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
