पाँचथर । पाँचौं पाँचथर गोल्डकप प्रतियोगितामा पथरी ११ले विजयीसूरुवता गरेको छ ।
शनिबार फिदिम माविको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक पाँचथर क्लबलाई २-० गोलले हराउँदै पथरीले अन्तिम चारमा स्थान पक्क गरेको हो ।

पथरीको जितमा सनम घिमाल र अकींत लिम्बुले गोल गरे ।खेलको पाँचौं मिनेटमा सनम घिमालको गोलमा पथरीले अग्रता लिएको थियो । अफसाइड भनि पाँचथरका डिफेन्डरहरुले सनमलाइ खाली छाड्दा पाँचथरले गोल खाएको थियो ।
दोश्रो हाफको अतिरिक्त समयमा पथरीका अंकित लिम्बुले गोल गर्दै पथरीलाई जित दिलाए । पथरीको पोष्टमा अधिकांश समय प्रहार गरे पनि गोल गर्न चुक्दा पाँचथर प्रतियोगिताबाट बाहिरिएको छ ।
आजको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेका पथरीका गोल रक्षक समिर क्षेत्री प्लेयर अफ दि म्याच घोषित भए । उनले नगद ७ हजार ५ सय प्राप्त गरे ।

फिदिम १२ निवासी सुनिता राई फ्यान अफ दि म्याच बन्दै नगर २ हजार ५ सय प्राप्त गरिन । प्रतियोगिता अन्तर्गगत आइतबार चर्च व्वाइज युनाइटेड, काठमाडौं र हिल्स फुटबल एकेडेमी, भारतबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ।
