विभागीय टोली एपिएफ फुटबल क्लबले इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधि जितेको छ।
इलामको ठूलो टुँडिखेल खेल मैदानमा शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबला २-१ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।
एन्फा महिला लिग विजेता समेत रहेको एपिएफका लागि गीता राना र सविता राना मगरले गोल गरे । आर्मीका लागि विमला चौधरीले गोल गरिन् ।
२५ औं मिनेटमा गीतसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । रश्मिकुमारी घिसिङलाई आर्मीका खेलाडीले पेनाल्टी बक्समा फाउल हानेपछि एपिएफले पेनाल्टी पाएको हो ।
सविताले ६२औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । कप्तान अनिता बस्नेतको क्रसमा सविताले गोल गरिन् । प्रतिस्पर्धामक खेलमा विमलाले ६९औं मिनेटमा गोल गर्दै अन्तर घटाइन् । तर आर्मी बराबरी गोल गर्न असफल रह्यो । फाइनलमा सयौं दर्शको उपस्थिति थियो ।
एपिएफ नेपाल पुलिस क्लब र आर्मी आयोजक ओएसिसलाई हराउँदै फाइनलमा पुगेको थियो ।
विजेता एपिएफले ४ लाख र आर्मीले २ लाख रुपैयाँ प्राप्त गरेको छ । फागुन १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
