इलाम । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी र त्रिभुवन आर्मी एफसीले भिड्दैछन् ।
इलामको ठूलो टुडिखेलमा जारी प्रतियोगिताको उपाधिका लागि विभागीय डर्बी खेल हुने भएको हो ।
आर्मीले पहिलो खेलमा साविक विजेता भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
भारतीय क्लब मदर टेरेसालाई १४-१ ले हराएको यात्रा सुरु गरेको एपिएफले सेमिफाइनलमा नेपाल पुलिस क्लबमाथि १-० को कठिन जित निकालेको थियो ।
एपिएफको पहिलो रोजाइमा राष्ट्रिय टोलीमा रहेका १० खेलाडी छन् । एपिएफको तुलनामा आर्मीमा राष्ट्रिय टोलीको खेलाडीको संख्या कम छ । घरेलु फुटबलमा आर्मीमाथि एपिएफ हाबी हुँदै आएको छ ।
आर्मीले फाइनलमा राष्ट्रिय टोली डिफेन्डर विमला बिके, पूर्व राष्ट्रिय खेलाडी शर्मिला थापा, राष्ट्रिय टोली स्ट्राइकर विमला चौधरी, गोलकिपर अञ्जना राना मगर, चन्द्रा भण्डारी, अञ्चली वाइबा हेमा चौधरी, सुनिता चौधरी लगायत प्लेइङ सेटमा मैदान उतार्ने छ ।
एपिएफले प्रीति राई, निशा थोकर, अनिता केसी, अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, गीता राना, सविता राना मगर, गोलकिपर सावित्री किसन, रेनुका नगरकोटे, सरु लिम्बू, मनमाया दमाईलाई खेलाउने सम्भावना छ । क्लब ओएसिसको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
