सर्वियाका लाजर अर्सिकले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
झापा एफसीले शुक्रबार सर्वियन अट्याकिङ मिडफिल्डर लाजरलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको घोषणा गरेको हो ।
लाजरले सर्वियाको शीर्ष श्रेणीको सर्वियन सुपर लिग, चीनको शीर्ष श्रेणीको लिग चाइनिज सुपर लिग र लेबनानको शीर्ष श्रेणीको लिग लेबनानिज प्रिमियर लिगको अनुभव लिइसकेका लाजरले कोरिया, ग्रीस र हंगेरीको दोस्रो श्रेणीको लिग खेलेका छन् ।
उनी झापामा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि झापाले पहिलो विदेशी खेलाडीका रूपमा उज्वेकिस्तानको रक्षक अजामात अब्दुलेभलाई अनुबन्ध गरेको थियो ।
झापा एफसीले लाकेन लिम्बू मार्की खेलाडीका रूपमा यसअघि नै अनुबन्ध गरिसकेको छ । झापा एफसीको मुख्य प्रशिक्षक भने प्रवेश कटुवाल हुन् । यस्तै, सहायक प्रशिक्षकमा कुवेर गिरी र गोलकिपर प्रशिक्षकमा मिन बस्नेत छन् ।
नेपाल राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्कालाई झापा एफसीले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।एनएसएलको तेस्रो संस्करण चैत १६ देखि हुने तय छ । ७ टिम सहभागी रहनेछन् ।
