फिफा महिला फुटबलको बरियतमा नेपालले चार स्थान सुधार गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल चार स्थान सुधार गर्दै ९९औं स्थानमा उक्लेको छ ।
यसअघि नेपाल १०३औं स्थानमा थियो । नेपालको १ हजार २ सय १ अंक रहेको छ । नेपाल एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको छ । दक्षिण एसिया नेपाल भारतपछि दोस्रो स्थानमा छ । भारत ६९औं स्थानमा छ ।
नेपालले यसै महिना घरेलु मैदानमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेलेको थियो । लिग चरणमा कीर्गिस्तान र लेबनानालाई समान १-० ले पराजित गरेको नेपालले अर्को खेलमा वरीयतामा ४८औं स्थानमा रहेको म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो ।
तर, फाइनलमा भने म्यानमारसँग नेपाल २-० ले पराजित हुँदै १३औंपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भयो ।
इन्टरनेसनल उमन्स च्याम्पियनसिपको च्याम्पियन म्यानमार ५५औं स्थानमा यथावत छ । विश्व वरीयतामा ६९औं स्थानमा रहेको भारत दक्षिण एसियामा शीर्षमा छ । एक स्थान सुधार गरेको भुटान १ सय ७१औं स्थानमा छ ।
विश्व वरीयतामा शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै स्पेन दोस्रो, जर्मनी तेस्रो, इङ्ल्यान्ड चौथो, जापान पाँचौं, स्विडेन छैठौं, क्यानडा सातौं, ब्राजिल आठौं, उत्तर कोरिया नवौं र नेदरल्यान्डस् १०औं स्थानमा छन् ।
